Category->सन्देश

सन्देश

आदरणीय महानुभावहरू,
हार्दिक अभिवादन/नमस्कार !

सर्वप्रथम, समाजलाई थोरै मात्र किन नहोस्, अगाडि बढाउन योगदान गर्ने सम्पूर्ण महानुभाव एवम् सहिदप्रति नतमस्तक हुँदै सम्मान र भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

मानव आफैमा अत्यन्तै क्षमता र सम्भावनाले भरिपूर्ण प्राणी हो । हामी त्यही क्षमतावान् र सम्भावनायुक्त जाति हौं । परन्तु, रुढिवादी धार्मिक–सांस्कृतिक सत्ताको बन्धनले हाम्रा सारा सम्भावना तुहाइरहेको छ । जुनसुकै क्षेत्रका किन नहोस्, आज विश्व मञ्चमा अग्रस्थानमा रहेका मानिसबीचको समानता भनेको उनीहरूले ती बन्धनहरू तोड्न सक्नु नै हो, जुन बन्धनले अधिकांश मानिसलाई सर्वसाधारण बनाइरहेको छ । त्यस्ता सफल मानिस समाजको आदेशपालक हुँदैनन्, बरु समाजलाई आफ्नो आदेशमा हिँडाउने सामथ्र्य राख्छन् । यही हो, सर्वसाधारण र असाधरण मानिसका बीचको भिन्नता । यति बुझ्न सके बल्ल जन्मनुको सार्थकता प्राप्त गर्न सकिन्छ ।

गतिशीलता असाधारण मानिसको सूचक हो । गतिशील हुनुको अर्थ– व्यर्थको जीवनबाट मुक्त हुनु मात्र नभई, ऊर्जावान् जीवन प्राप्त गर्नु पनि हो । विद्यमान रुढिवादी समाजलाई बकवास लाग्न सक्छ तर मान्छेको सफलता र असफलता यसैमा निर्भर हुन्छ । यो सत्य बुझ्न पहिला आफै जागरुक हुन जरुरी छ । यथास्थितिको आँखाबाट हेर्दा यस्ता कुरा बकवास लाग्नु ठीकै हो ।

मलाई यो कुराको राम्रोसँग हेक्का छ कि भ्रम नै किन नहोस् तर अधिकांशलाई ठीक अर्थात् प्रिय लागिरहेको कुरा सदा प्रिय नै हुन्छ । यसका विरुद्ध बोल्नु कसैले बडो स्वादका साथ हात चाटीचाटी खाइरहेको खानालाई छिःछिः भन्दिनुजत्तिकै अमिल्दो र चुनौतीपूर्ण हुन्छ । यद्यपि, सत्य नै यही भएपछि चुनौतीको सामाना गर्नु हरेक सचेत मान्छको दायित्व बन्नजान्छ । तत्कालका निम्ति प्रायःलाई सामाजिक मूल्यविपरीतका कुरा अप्रिय र अस्वीकार्य लाग्छ । तर प्रकारान्तरमा यसले दिने फल काफी स्वादिष्ट र स्वीकार्य हुन्छ ।

उतिवेला धार्मिक अनुयायीको विश्वासविपरीत वैज्ञानिक तथ्य र तर्क अगाडि सार्ने कुरा ग्यालिलियो ग्यालिली र चाल्र्स डार्बिनलाई पनि कम्ती चुनौतीपूर्ण कहाँ थियो र ? तमाम खतरा थियो, उनीहरूको जीवनमा ! तर चुनौती नै सही, उनीहरूले अन्धविश्वासमाथि धावा वोल्दै तर्कपूर्ण ढंगले सत्य उजागर गरिछाडे । एकपटक कल्पना गरौं त ! ग्यालिलियो र डार्बिनजस्ता समाजका सचेत मान्छेले रुढिवादमाथि वैज्ञानिक प्रहार नगरेका भए आज मानव समाज कहाँ हुन्थो ? अनुमान गर्न सक्छौं– त्यही हुन्थ्यो, जहाँ १६–१७ औं शताब्दीका मानिस थिए । तर डार्बिन र ग्यालिलियोजस्ता महामानवले तत्कालीन अन्धविश्वासी समाजबाट पैदा हुन सक्ने सम्भावित खतराको सामना गर्ने दुस्साहस गरेकाले नै आज विश्व–ब्रह्माण्ड रिमोटको अधिनमा आउन सकेको हो ।

मलाई लाग्दैन, मानिसको जीवनमा केवल ठूलठूला घटना वा प्रलयले मात्र परिवर्तन ल्याउँछ । सफल मानिस हरेक दृश्यलाई प्रश्न बनाउँछ र त्यसको जवाफ खोज्न थाल्दछ । अनि त्यो नै उसको सफलताको कारक बन्छ । हामीलाई सफल मान्छे बनाउने थुप्रै दृश्य थिए र छन् । तर हामी अनदेखा गर्छौं, जसले हाम्रो सारा सम्भावना फोस्रो बनाइरहेको छ ।

एकपटक सर आइज्याक न्युटनलाई हेरौं न ! रुखबाट स्याउ भुइँतिर झरेको दृश्यको कारण खोज्दा उनले गुरुत्वाकर्षणको नियम पत्ता लगाए । यस खोजबाट उनले मानवजातिलाई ठूलो योगदान मात्रै गरेनन्, स्वयं पनि विश्वविख्यात वैज्ञानिकको स्थान प्राप्त गर्न सफल भए ।

किन कम्पासले सधैं उत्तर–दक्षिण मात्र देखाउँछ ? त्यसको जवाफ खोज्दा अल्बर्ट आइन्स्टाइन विश्वका सर्वाधिक चर्चित वैज्ञानिक बने । चर्चको छतमा झुण्ड्याइएको लाल्टिन तीब्र गतिमा यताउता हल्लिएको र क्रमिकरूपमा त्यसको गति कम हुँदै गएको दृश्यको जवाफ जोज्दै जाँदा ग्यालिलियो ग्यालिली खगोल विज्ञानका महान् वैज्ञानिक बन्न सफल भए ।

हो, जिज्ञासा नै परिवर्तनको सेतु हो । यसर्थ म सबैमा अपिल गर्न चाहन्छु– प्रश्न आफूले आफैंलाई गरौं ! प्रश्न घर–परिवारमा गरौं ! प्रश्न समाजलाई गरौं ! प्रश्न हरेक कुरामाथि गरौं ! र, प्रश्न आफूले गर्ने काममाथि पनि गरौं । यसैले हाम्रो दुर्गतिको अन्त्य र २१ औं शताब्दीको वैज्ञानिक समाज निर्माणमा योगदान पुग्नेछ । यसको महङ्खव यतिमा मात्रै सीमित छैन । यही प्रयत्नले शान्ति र विकास अनि मानवताको दिगो जग हासिल गर्न सकिन्छ ।

धन्यवाद !

– प्रकाश विकल्प

साझेदार

शिर्स