Category->न्युज

प्रचण्डद्वारा प्रकाश विकल्पको दोस्रो पुस्तक ‘समृद्धिको रोडम्याप’ विमोचन

इटहरीः सुशासनका अभियन्ता, युवा नेता तथा लेखक प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘समृद्धिको रोडम्याप’ आज काठमाडौँको हार्दिक होटलमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

सो पुस्तकको विमोचन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका हुन् । विमोचन कार्यक्रममा पुस्तकमाथि लेखक तथा नागरिक अगुवा युग पाठक र राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले टिप्पणी गरेका थिए । पुस्तकका विषयमा उठेका प्रश्न र टिप्पणीमाथि लेखक विकल्पले जवाफ दिएका थिए । विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न नभएको बताए । सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाइँ भएको उनको जिकिर थियो ।

जनताको बिचार सही भए सही नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने विचार पनि प्रचण्डले आफ्नो मन्तव्यका क्रममा व्यक्त गरे । सो पुस्तक इन्डिगो इङ्कले प्रकाशन गरी बजारमा ल्याएको हो । यसअघि लेखक विकल्पले ‘देश किन बनेन?’ नामक पुस्तक बजारमा ल्याइसकेका छन् । सो पुस्तकको अपार सफलतापछि उनले दोस्रो पुस्तकका रुपमा ‘समृद्धिको रोडम्याप’ आम पाठकसामु पस्केका हुन् । लेखक विकल्पले भने, ‘यो पुस्तक मात्र होइन, समृद्धिको अभियान पनि हो ।’

यस्तो छ पुस्तकको एक अंश
नेपालमा सबैभन्दा धेरै बहस र चर्चा भएको विषय सुशासन हो । अनि कहिल्यै हासिल गर्न नसकिएको पनि सुशासन नै हो । नेपालमा अनियमितताले यसरी जरा गाड्न पुग्यो, जसलाई फाल्न २४० वर्ष लामो हिन्दु सामन्ती राजतन्त्र फाल्नभन्दा कठिन हुने देखिन्छ । किनकी, सुशासनको कोणबाट हेर्दा मुलुकको हावापानी नै दूषित भइसकेको छ । हावापानी नै दूषित हुनुको अर्थ हो, स्वच्छ नै देखिने किन नहोस् धेरथोर चुकिसकेको हुन्छ । किनकी, उसले पनि प्रयोग गर्ने हावापानी त यही न हो ! भलै, स्वयंले त्यसको थाहा पाइरहेको नहुन सक्छ । हावापानी नै खराब भइसकेको अवस्थामा राजनीतिकर्मी र कर्मचारी मात्र होइन नागरिकसमेत नबिटुलिई रहने कुरै हुँदैन । नागरिकले गलतका विरुद्ध आवाज बुलन्द नगर्नु यसको प्रमाण हो । नेपाल यस्तो देश हो, जहाँ अनियमितता र बेथितिले व्यक्तिपिच्छे पकड जमाइसकेको छ ।
त्यही अनुभूतिका कारण मैले भन्ने गरेको छु, ‘हाम्रो हावापानी नै दूषित भइसक्यो ।’

अतः हावापानी नै बदल्ने स्तरको राजनीति आजको एक मात्र विकल्प हो ।

सुशासनको कोणबाट हेर्दा मुलुकको हावापानी नै दूषित हुने अवस्था कसरी आयो, यो गम्भीर प्रश्न हो । पश्चिमाको तुलनामा नेपालमा राजनीतिक परिवर्तन ढिलै सही तर सफल भयो । जहानियाँ राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्र फाल्दै प्रजातन्त्र र गणतन्त्रको वकालत गर्ने परिवर्तनकारी शक्ति राज्यसत्तामा त पुग्यो तर नयाँ विचार, नीति र कार्यक्रम निर्माणमा ऊ कहीँ न कहीँ अल्मलिन पुग्यो । एकात्मक हिन्दू सामन्ती संरचनाको प्रभावले शताब्दीऔं पछाडि परेको नेपाली समाजको सांस्कृतिक रूपान्तरणमा त्यसले पटक्कै ध्यान दिएन । गतिशील विचारको निर्माण र प्रयोगमार्फत यथास्थितिवादी समाजमाथि निर्णायक धक्का दिन नचाहँदा मुखमा आइसकेको गुणात्मक परिवर्तनसमेत पैदा हुन सकेन ।

यसले पुँजीवादलाई झनै बलशाली बनाइदियो । यो भन्नुको मतलब नेता–कार्यकर्तामा राज्य सञ्चालनका दौरान निजी आकांक्ष हाबी भए भन्ने हो । अर्थात्, ऊ समाजवादी नभएर पुँजीवादको दलदलमा फस्न पुग्यो, जसका कारण विधिभन्दा व्यक्ति प्रधानताको शृङ्खला क्रमिक रूपमा व्यवस्थित हुँदै गयो । निजी स्वार्थमा लिप्त हुनु उसको प्रमुख चरित्र बन्न गयो, जुन पुँजीवादको अनिवार्य नियम हो ।

सामूहिकता अलप र व्यक्तिप्रधानता हाबी भएपछि सुशासन मरिचजस्तो हुने नै भयो भने अनियमितताको आयतन चौतर्फी फैलियो । तथ्यलाई हेर्दा यो स्पष्ट हुन्छ कि राजनीतिक शक्तिहरूको वैचारिक स्खलन र भ्रष्टीकरण नै सुशासनका सूचाङ्क निराशाजनक हुनुको प्रमुख कारण बन्यो ।

मुलुकको विगतदेखि वर्तमानसम्म सुशासनको अवस्था हेर्दा नागरिक आजित भइसकेको देखिन्छ । चिन्ता त के हो भने आजको नागरिक चेतनाले निकट भविष्यमा ‘राज्यलाई अपराधी घोषणा गरेर’ कर बहिष्कारको आन्दोलन गर्न सक्छ, जुन आवश्यक पनि देखिन्छ । विभिन्न अभियान र कार्यक्रमका नाममा नागरिक सलबलाउन थालिसकेका छन्, यसलाई सत्ताले देखिरहेको छैन भने ठूलो विडम्बना निम्तिने करिब–करिब पक्कापक्की जस्तै छ । स्वभावैले, विकास निर्माण र सेवा गतिलो हुँदैन भने करको औचित्य रहँदैन । यही स्थिति रहिरहेमा ठूलो नागरिक विद्रोह कसैले रोक्न सक्नेवाला छैन । किनकी, नागरिकले मरिमेटेर कर तिर्नुपर्ने, तर राज्य त्यसको दोहन गरेर बस्ने, यस्तो हुन सक्दैन । नागरिक तागतका अगाडि दुनियाँका शासक फिका भएका बेला पर्याप्त तथ्य अनदेखा गर्नु मुलुकमाथिको खेलबाडकै निरन्तरता हो ।

Published By : pradeshportal.com

https://pradeshportal.com/news/12655?fbclid=IwAR15oXhnGgZ0HhY53WtjaLdRfEOF4xWVC_5baCXKCeusroqyJR2MFHDvEDk

साझेदार

शिर्स