Category->न्युज

प्रकाश विकल्पको पुस्तक विमोचनमा प्रचण्डको अनौठो खुलासा

काठमाडौं-प्रगतिशील लेखक प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘समृद्धिको रोडम्याप’ आज काठमाडौंमा विमोचन गरिएको छ ।

सयौं पाठकको उपस्थितिका बीच पुस्तकको विमोचन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका हुन् । विमोचन कार्यक्रममा पुस्तकमाथि लेखक तथा नागरिक अगुवा युग पाठक र राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले टिप्पणी गरेका थिए । पुस्तकका विषयमा उठेका प्रश्न र टिप्पणीमाथि लेखक विकल्पले जवाफ दिएका थिए ।

विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न नभएको बताए । सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाइँ भएको उनको जिकिर थियो ।

जनताको बिचार सही भए सही नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने विचार पनि प्रचण्डले आफ्नो मन्तव्यका क्रममा व्यक्त गरे । सो पुस्तक इन्डिगो इङ्कले प्रकाशन गरी बजारमा ल्याएको हो । यसअघि लेखक विकल्पले ‘देश किन बनेन?’ नामक पुस्तक बजारमा ल्याइसकेका छन् । सो पुस्तकको अपार सफलतापछि उनले दोस्रो पुस्तकका रुपमा ‘समृद्धिको रोडम्याप’ आम पाठकसामु पस्केका हुन् ।

यसैबीच कार्यक्रममा प्रचण्डले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्बृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् । मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएकोे भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने बताए ।

उनले भने “सम्बृद्धि केलाई भन्ने ? केही मुठ्ठीभर व्यक्तिहरु अरबपति, खरबपति भए अरु धेरै व्यक्तिहरुले सामान्य मानविय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याव, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्यो भने त्यसलाई सम्मृद्धि भन्न सकिदैन । समग्र मानव समाज नै एउटा हारमोनिममा, एउटा तादात्म्यमा सामाजिक न्याय सहित सभ्यताको एउटा नयाँ उचाई छुँदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो । ” उनले भने “नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन । नेता मुख्य होइन । जनता मुख्य हो । जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ । नेताले जनता निर्धारण धेरै गर्दैन । निर्णायक र शक्तिको श्रोत मुख्य जनता हो । वर्गसंघर्ष , उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगबाट बन्ने एभरेज सामाजिक चेतनाले नेतृत्व जन्माउने हो ।”

प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्यापले समृद्धिको सवालमा कयौ प्रश्नहरु उठाएको भन्दै उनले तीनै प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्बृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जाने विश्वास व्यक्त गरे ।

उनले भने “सम्बृद्धिको रोडम्याप पढ्दै जाँदा तपाईहरुले देख्ने थुप्रै प्रश्न हुन्छन् । म अहिले यसलाई उत्तर आईसकेको किताबको रुपमा पनि भन्न चाहन्न । यसले प्रश्न धेरै उठाएको छ । बहस नयाँ ढंगले उठाउन जमर्को गरेको छ । त्यही प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्बृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जान्छ भन्ने मैले ठान्दछु । ”

पुस्तकमा आफुलाई गाली गर्नेहरुको जमातलाई विभिन्न नेताका क्रियाकलापसंग तुलना गरेर लेखकले जवाफ दिने चेष्टा गरेको उल्लेख गर्दै उनले विरोधीले गरेको आलोचना भन्दा पनि आफ्नो वर्गले आफुलाई ठिक ढंगले चिन्यो कि चिनेन भन्नेमा आफु बढी संवेदनशील हुने गरेको उल्लेख गरे । अध्यक्ष दाहालले मन नपराउनेहरुको एक समुहले धेरै पहिले आफूलाई मार्न खोजेको, “जियाडोनो ग्रिनो” बनाउन खोजेको तर जनताले बचाएको उल्लेख गर्दे आफ्नो लडाई प्रधानमन्त्रीका लागि नभइ तीनै लक्षित वर्ग र समुदायको हितको लागि भएको स्पष्ट पारे ।

उनले भने “यथास्थितिबादी, परम्परावादी, लामो समय राज्य संञ्चालन जिम्मा लिएका मान्छेहरूलाई नाम पनि मन पर्दैन । काम पनि मन पर्दैन । उनीहरुले कहीँ न कही टिप्पणी गरिनै राखेका हुन्छन् । मैले त्यसलाई अनौठो र अस्वभाविक मान्दिनँ । मलाई आफ्नै वर्गले ठिक ढंगले चिन्यो कि चिनेन ? भन्ने कुरा बढी चिन्ताको विषय बनेको छ । मेरा विरोधीले मलाई आरोप लगाउनु, गाली गर्नु र आलोचना गर्नु अनौठो होइन किनभने मलाई एकाथरीले त मलाई मार्नै खोजेको हो नि त । अहिलेसम्म बाँचिरहिएको छु कताकताबाट । त्यो कस्ले बचायो भन्दा जनताले बचाएका हुन्, अरुले त होइन । जियाडोनो ग्रिनो त मलाई नै बनाउन खोज्या हो नि त । तर म दुई चोटी प्रधानमन्त्री भईसकेँ । अब मलाई प्रधानमन्त्री बन्ने हतारो पनि छैन । प्रधानमन्त्रीको निम्तिको लडाई पनि होइन मेरो । ”

आलोचकहरूले आफ्ना बारेमा धेरै नकारात्मक प्रचारबाजी गरेर जनतामाझ नराम्रो देखाउने कोशिष गरेको उल्लेख गर्दै उनले लेखकले भने यथाअवस्थालाई पुस्तकमा छर्लङ्ग राखेको भन्दै लेखनीको प्रशंसा पनि गरे । लेखकका दुई पुस्तकको विमोचनमा आफू नै प्रमुख अतिथी हुन पाएकोमा हर्ष व्यक्त गर्दै अर्को पुस्तकको विमोचनमा पनि आफैलाई बोलाउन उनले आग्रह गरे । काठमाडौंको हार्दिक होटेलमा आयोजना गरिएको कार्यक्रमको सहजीकरण आरके ढुंगानाले गरेका थिए ।

Published by : aawajtimes.com

प्रकाश विकल्पको पुस्तक विमोचनमा प्रचण्डको अनौठो खुलासा

साझेदार

शिर्स