लेखक प्रकाश विकल्पको पुस्तक समृद्धिको रोडम्याप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरेका छन् । शनिवार काठमाडौंमा एक समारोहका बिच प्रकाशको दोश्रो पुस्तकको विमोचन गरिएको हो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले गतिशिल र सिर्जनशील लेखक विकल्पको दुबै पुस्तक विमोचन गर्न पाएकोमा खुसी ब्यक्त गरे । पहिलो पुस्तक देश किन बनेन ? भन्ने विषयमा केन्द्रीत रहेको बताउँदै उनले समृद्धिको बाटोमा पुस्तकमा विकासको बारेमा एउटा नयाँ बहस सुरुवात गर्ने प्रयासका रुपमा आफूले लिएको उल्लेख गरे ।
उहाँको भित्र एउटा हुटहुटी छ केही नयाँ गरौँ, केही राम्रो गरौँ, देश बनाउँने महत्वाकांक्षा यूवाहरु माझ नयाँ शिराबाट उहाँले शूरुवात गरेको मलाई महशुस हुन्छ ।’ अध्यक्ष प्रचण्डले पुस्तकका लेखक प्रकाशले विज्ञान प्रविधिलाई, आधुनिक युगलाई कसरी लिएका छन् र त्यसबारेमा उनले बनाएका परियोजनाहरु आफूले हेरेको बताए । प्रतिनिधि सभा पुनःस्थापनाका लागि गरिएको संघर्षमा प्रकाशले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए ।
विमोचन कार्यक्रममा लेखक युग पाठक तथा राष्टिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले पुस्तकमाथि टिप्पणी गरे । लेखक पाठकले पुस्तकमा विश्वका विभिन्न विद्धानका भनाईलाई उद्धरण गरिएको बताउँदै पुस्तकले के विषयलाई कसरी समृद्धि मान्ने भन्ने विषयमा बहस सिर्जना गरेको उल्लेख गरे ।
यस्तै अन्सारीले पुस्तकमा महिलाको भूमिकालाई कमजोर रुपमा प्रस्तुत गरिएको भन्दै टिप्पणी गरिन् । उनले पुस्तकमा यूरोप भन्दा नेपाल अझैपनि ३ सय वर्षपछि परेको र नेपाली समाजका समस्याहरुलाई लेखकले स्वीकार गरेको उल्लेख गरिन् ।
पुस्तकका लेखक प्रकाश विकल्पले मानिसमा चेतना विकास हुँदै जाँदा त्यसले निकास खोज्ने र सोही कारणबाट आफू लेखक बन्न पुगेको बताए । उनले चेतनाको निकास स्वरुप विपिले प्रजातन्त्र ल्याउन, प्रचण्डले क्रान्ति ल्याउन प्रयोग गरेको बताउँदै आफूले भने क्रान्ति गर्न छोडेर पुस्तक लेखनतिर लागेको उल्लेख गरे ।
उनले समृद्धिको रोडम्याप पुस्तक ‘एन्टी थेसिस’को रुपमा रहेको बताउँदै अहिलेको व्यवस्थामाथि प्रश्न उठाएको पुस्तक रहेको बताए । उनले अहिलेको राजनीतिक, सामाजिक, आर्थिक व्यवस्थामाथि प्रश्न उठाएको बताउँदै एउटा भवन बन्ने र चिल्लो सडक बन्ने कुरा मात्रै समृद्धि हो त भन्दै प्रश्न समेत गरे ।
लेखक विकल्पले अध्यक्ष प्रचण्डलाई बुझ्न विज्ञान र प्रकृतिको नियम बुझ्न आवश्यक रहेको बताए । उनले प्रचण्डको सिद्धान्त गतिशीलता र रुपान्रण रहेको बताउँदै यी दुई चिज नभए परिवर्तन संभव नभएको उल्लेख गरे । उनले भने–‘जवसम्म वर्तमान अवस्थालाई मानिसले चुनौति दिँदैन तवसम्म त्यहाँ परिवर्तन हुँदैन । जबसम्म मानिसले क्रान्ति भनेको के हो बुझ्दैन उसले प्रचण्ड भनेको के हो बुझ्न सक्दैन ।’
उनले पुस्तकमा मानवजातिको हितमा जानुपर्छ भन्ने कुरामा जोड दिएको बताउँदै ५ सय वर्षपछिको मानव जीवन कस्तो हुन्छ भन्ने कुरा पुस्तकमा उठान गरेको उल्लेख गरे ।
Published By: ratopati.com
https://ratopati.com/story/171607/2021/3/13/prachand–